खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत केहि दिनदेखि विभिन्न सञ्चार माध्यमहरुमा आइरहेको शिशु आहारमा विषाक्त पदार्थ मिसाउन अनुमति दिएको भन्ने समाचार आधारहिन र भ्रामक भएको बताएको छ । विभागले एक विज्ञाप्ति जारी गर्दै
शिशु आहारमा मेलामाइन मिसाउन अनुमति दिइएको भन्ने समाचार गलत भएको दाबि गरेको हो ।
कोडक्सअन्तरगतको खाद्य तथा कृषि संगठन र विश्व स्वास्थ्य संगठनद्धारा प्रतिपादित मान्तयता तथा स्ट्यान्डर्डका आधारमा दुग्ध पदार्थमा मेलामाइनको मात्रा तोकिएको विभागको विज्ञाप्तिमा दावि गरिएको छ । जनस्वास्थ्यजस्तो संवेदनशिल विषयमा विभाग सधै सचेत रहेको र भ्रमात्मक समाचारको पछाडी नलाग्न विभागले सबैलाई अनुरोध पनि गरेको छ । “खाद्य ऐन २०२३ बमोजिम शिशु दुग्धआहार लगायत अन्य दुग्धजन्य पदार्थमा अखाद्य तथा हानिकारक वस्तुको मिसावट गरि उत्पादन, आयात तथा विक्रि वितरण गर्न निषेध गरिएको हुदा यस प्रकारको समाचारबाट भ्रममा नपर्न आम जनमानसमा हार्दिक अपिल गरिन्छ” विज्ञाप्तिमा भनिएको छ ।
गत केहि दिनदेखि विभागले दुग्धजन्य र अन्य शिशु आहारमा हानिकारक औद्योगिक रसायन ‘मेलामाइन’ मिसाउन अनुमति दिएको समाचार प्रकाशित भएका थिए । विभागले २०७५ बैशाखमा राजपत्रमा सुचना प्रकाशित गरि शिशुका लागि ठोस आहारमा प्रतिकिलोग्राममा १.० मिलिग्राम, तरल दूधमा प्रतिकिलोग्राममा ०.१५ मिलिग्राम, दूध तथा दुग्धजन्य पदार्थमा प्रतिकिलोग्राममा २.५ मिलिग्राम र अन्य खाद्य पदार्थमा एक किलोमा २.५ मिलिग्राम भन्दा कम मेलामाइनको मापदण्ड तोकेको थियो ।
नेपाल पोषणविद तथा डाइटिसियन संघका अध्यक्ष डा. अतुल उपाध्यायका अनुसार खाद्य पदार्थ नियमनका लागि प्राविधिक मापदण्ड तोक्नै पर्ने र विभागले तोकेको उक्त मापदण्ड कोडेक्सअनुसार कै भएकाले आत्तिनु पर्ने अवस्था छैन । “दुग्धपदार्थमा मेलामाइन मिसावट नहोस भनि नियमन गर्नका लागि पनि कुनै न कुनै मापदण्ड त तोक्नै पर्छ” उनले भने त्यहि उद्देश्यले विभागले मेलामाइनको मापदण्ड तोकेको हुनु पर्दछ । मेलामाइन नियमन गर्न तोकिएको मापदण्डलाई मिसाउन अनुमति दियो भनेर प्रचार गर्नु गलत भएको उनको तर्क छ ।