क्यान्सर भन्ने वित्तिकै धेरैको आङ सिरिङ्ग हुन्छ । स्वास्थ्यमा खासै वास्ता नगर्ने मानिस पनि क्यान्सर लाग्न सक्छ भने पछि डरले जिब्रो टोक्ने गरेको देखिन्छ । पछिल्लो समय ठूलो जनस्वास्थ्य समस्याका रुपमा देखा परेको क्यान्सरका कारण धेरै मानिसहरु पीडित बनिरहेका छन् । संसारभर मानिसहरुको मृत्यु हुने कारणहरु मध्ये क्यान्सर दोश्रो स्थानमा पर्दछ ।
संसारभर ६ जना मानिसको मृत्यु हुँदा १ जना क्यान्सरका कारण मर्दछन्। विश्वमा हुने कुल मृत्युको करिब १३ प्रतिशत कारक तत्व क्यान्सर बनेको छ। वर्षेनी ८८ लाख मानिस क्यान्सरका कारण मरिरहेका छन र यहि अवस्था कायम रहे बर्षेनी क्यान्सरका कारण मर्नेको यो संख्या बढेर अबको दश बर्षमा १ करोड चालिस लाख पुग्ने अनुमान छ। नेपालमा बर्षेनी हजारौ मानिसहरुको विभिन्न खालका क्यान्सरका कारण मृत्यु भइरहेको छ र क्यान्सरका रोगीहरुको संख्या पनि दिन प्रति दिन बढ्दो छ।
मानिसको शरिरमा खरबौको संख्यामा स–साना कोषिकाहरू हुन्छन्। शरिरमा नयाँ बन्ने कोष तथा कोषिकाहरूको वृद्धिक्रम सामान्य अवस्थामा कोषभित्र रहेको डिएनएले नियन्त्रण गरिरहेको हुन्छ। तर कुनै कारणले खराबी आई कोष तथा कोषिकाहरुको वृद्धि अनियन्त्रित भई विस्तारै स–साना गिर्खा बन्दछन्। यस्ता गिर्खा मध्ये पनि शरीरमा ढिलो गरि बढ्ने, नोक्सान नगर्ने र अन्य अंगमा नफैलने किसिमका गिर्खालाई बेनाइन ट्युमर भनिन्छ भने शरीरमा छिटोछिटो बढ्ने, नोक्सान गर्ने, एक स्थानबाट अर्का स्थानमा सर्न सक्ने गिर्खालाई मालिनान ट्युमर वा नियोप्लाज्म भनिन्छ जुन क्यान्सरको रुप हो।नेपालमा खासगरि फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, आमाशयको क्यान्सर, मस्तिष्कको क्यान्सर, छालाको क्यान्सर, दिसा गर्ने नलीको क्यान्सर, स्तन क्यान्सर, लिम्फ ग्रन्थिको क्यान्सर, रगतको क्यान्सर, घाँटीको क्यान्सर आदि प्रमुख रुपमा देखिएका छन्। आधिकारिक तथ्यांक नभए पनि नेपालमा बर्सेनी ५० हजार नयाँ क्यान्सरका बिरामी थपिने गरेको अनुमागन गरिएको छ।
क्यान्सर हुने प्रमुख कारणहरु
विश्व स्वास्थ्य संगठनका अनुसार क्यान्सर गराउने मुख्य कारणहरुमा धुम्रपान, मद्यपान, अस्वस्थ खानपान, मोटोपना, शारीरिक रुपमा निष्क्रिय हुनु, संक्रमण, वातावरणीय प्रदुषण, विकिरणहरु, कार्सिनोजेनहरुसँगको सम्पर्क, विषादी आदि प्रमुख हुन। क्यान्सर गराउने धेरैजसो कारणहरु खानपान र जीवनशैलीसँगै सम्बन्धित छन।
विश्व स्वास्थ्य संगठनका अनुसार करिव ३५ प्रतिशत क्यान्सर हुने कारण अस्वस्थ खानपिनमा हो। मुख, घाँटी, अन्ननली, आमाशय, आन्द्राको क्यान्सर, फोक्सो, प्याङक्रियाज, प्रोष्टेट, कोलोरेक्टल, स्तन, पाठेघर आदि अंगको क्यान्सर, रक्त क्यान्सर खानासँग प्रत्यक्ष सम्बन्धित छन्। प्रशोधित मासु क्यान्सरको प्रमुख कारक मध्ये एक हो। धुवामा पोलेको सेकुवा खानेहरुमा सेकुवामा हुने बेन्जो ए पाइरिन नामक क्यान्स गराउने रसायन तथा फ्रि रेडिकलका कारण क्यान्सर हुन सक्दछ। विषदीको अवशेष बढी भएका खानेकुरा खानेहरुमा पनि विषादीको प्रकृति र मात्रा अनुसार विभिन्न खालका क्यान्सरको जोखिम उच्च हुन्छ। जाँडरक्सी बढी खानाले मुख, घाँटी र कलेजोको क्यान्सर लाग्ने खतरा बढी हुन्छ। ढुसी परेको वा मायकोटक्सिन भएको खानाले क्यान्सर गराउन सक्दछ। अखाद्य रङ राखिएका र प्रिजरभेटिभ हालेका, बट्टा बन्दि गरिएका अचार, डढेको मासुजस्ताकतिपय खानेकुराको क्यान्सर गराउनमा ठूलो भूमिका हुन्छ। पटक पटक पुन प्रयोग गरिएको तेल र त्यसमा पकाइएका खानेकुराले पनि क्यान्सरको जोखिम बढाउने गर्दछन्।
चुरोट, बिडी, तमाखु, खैनी, सूर्ति आदि धुँवा बनाएर वा चपाएर खाने सूर्तिजथन्य पदार्थको सेवनले मुख, श्वासनली, फोक्सो, आमासय, गर्भासय, मूत्रनली, मिर्गौला आदि विभिन्न अंगको क्यान्सर हुन्छ। एक्स–रे, सिटि स्क्यानबाट निस्कने विकिरण आयोनाइजिङ रेडियसन, वातावरणीय विकिरणको प्रभावका कारण रगतको क्यान्सर तथा छालाको क्यान्सर हुन सक्छ। विभिन्न भाइरस जस्तै हुमन पापिलो, हेपाटाइटिस बी, इपेस्टाइन–बार भाइरस, हेलिकोब्याक्टर पाइलोरी ब्याक्टेरियाको संक्रमणका कारणबाट पनि विभिन्न अंगको क्यान्सर हुनसक्छ। वातावरणिय प्रदुषण पनि क्यान्सरको अर्को कारक हो। सवारीसाधन र कलकारखानाबाट निस्कने धूलो र धुवाँको असरले, प्रदूषित हावापानी र वातावरणमा पाइने काडमिएम, आर्सेनिक, क्रोमियम, एस्बेस्टोज, बेन्जिन, पोलिसाइक्लिक हाइड्रोकार्बन, भिनायल क्लोराइडजस्ता हानिकारक तत्वहरूले पनि क्यान्सर गराउँछ।
खाना र जीवनशैली मार्फत क्यान्सर रोकथाम
हामी साना साना सजिलै कम गर्न सकिने कारण देखि अन्जानमा भएका गल्ति तथा वातावरणीय प्रभावका कारण क्यान्सरको शिकार भइरहेका हुन्छौं। स्वस्थ, स्वच्छ र सन्तुलित भोजन मात्रै खाने, शारीरिक व्यायाम गर्ने, धुम्रपान तथा मद्यपान नगर्ने गरेमा क्यान्सरको जोखिमलाई ६० देखि ७० प्रतिशतसम्म कम गर्न सकिने विभिन्न अनुसन्धानले बताएका छन्।
खाना मार्फत क्यान्सरको रोकथाम गर्नका लागि स्वच्छ र स्वस्थ खानाको सन्तुलित उपभोग नै प्रमुख आधार हो। अवैज्ञानिक तवरले प्रशोधित, रिफाइन्ड गरिएका, धेरै चिल्लो, नुन, मसला भएका खानेकुराहरु नखाने, खाने तेललाई पटक पटक पुन प्रयोग नगर्ने, सेकुवा तथा प्रशोधित मासु नखाने, विषादी अवशेषयुक्त खाना नखाने गरेमा खानाका कारण हुने क्यान्सरबाट बच्न सकिन्छ। नुन बेसी हालेको खाना पनि कम खानुपर्छ। नुन बढी खानाले रक्तचाप बढ्नुका साथै पेटको क्यान्सरको सम्भावना बढी हुन्छ। कृतिम अखाद्य रंग हालिएका मिठाइहरु, डिब्बा बन्दि गरिएका तयारि अचारहरुबाट पनि टाढै बस्नु पर्दछ। फाइबरयुक्त खानाको उपभोगले ठूलो आन्द्राको क्यान्सरको जोखिमबाट बचाउदछ। टमाटरमा पाइने लाइकोपिन अण्डासय, पित्त थैलि आदिको क्यान्सरबाट बचाउन उपयोगी मानिन्छ।
कतिपय खाद्य पुरकहरु समेत कार्सिनोजेनिक भएको दाबि अनुसन्धानहरुले गरिरहेकोले खाद्य पुरक खानै पर्ने भएमा चिकित्सक वा डाइटिसियनको परामर्शमा मात्र खानु पर्दछ। शरीरको तौल बढी हुनु पनि क्यान्सरसँग पनि सम्बन्धित हुने भएकाले तौललाई धेरै कम वा बेसी हुन दिनु हुदैन्। तौल घटाउनका लागि प्रयोग गरिने विभिन्न औषधीहरुले झनै हानी गर्ने भएकाले खाना र व्यायामबाट वा डाइटिसियनको परामर्शमा तौलको व्यवस्थापन गर्नु पर्दछ। चुरोट, खैनीजस्ता सुर्तीजन्य पदार्थको सेवन नगर्ने र मदिराजन्य पदार्थ नखाने हो भने पनि धेरै हदसम्म क्यान्सर लाग्नबाट बच्न सकिन्छ।
क्यान्सर लाग्नबाट बचाउने खानाहरु
प्रकृतिले हामीलाई केहि यस्ता खानेकुराहरु दिएको छ जसको उपभोगले क्यान्सर लाग्नबाट बचाउनु मात्र हैन कतिपय अवस्थामा क्यान्सर गराउने कोषिकाहरु नष्ट गर्नमा समेत भूमिका खेल्दछन्। यस्ता खानेकुरामा हुने एन्टिअक्सिडेन्ट तथा कतिपय पोलिफिनोलहरुले कोषको अक्सिडेसन हुनबाट बचाउनुका साथै विभिन्न फाइदाहरु गर्दछन्।
यदि क्यान्सर लागि नै सकेको छ भने पनि खानपानमा ध्यान दिदा क्यान्सरको उपचार प्रभावकारी हुन्छ। क्यान्सर रोगीले खानपानमा ध्यान दिनु पर्ने कुराहरुमा प्रशोधित, रिफाइन्ड गरिएका धेरै चिल्लो, पिरो, मसला भएका खानेकुराहरु नखाने, आधा पाकेका खानेकुराहरु जस्तैस् हाफ बोइल्ड अण्डा नखाने, राम्ररी पाकेको वा उसिनेको खाना मात्र खाने, व्यक्तिगत सरसफाईमा ध्यान दिने, दूध तथा दूधबाट बनेका परिकारहरु खादा राम्ररी उमालेकोरपाकेको मात्र खाने आदि प्रमुख हुन। क्यान्सरका बिरामीहरुले जुनसुकै प्रकारको फलफुलहरु खान सक्दछन् र यसले प्रतिरोधि क्षमता मजबुद बनाउन सहयोग गर्दछ। हामीले स्वस्थ तथा स्वच्छ खानपान र जीवन शैलीमा अपनाउने हो भने प्राणघाती क्यान्सरबाट बच्न सकिन्छ।