सखरखन्ड अर्थात सुठुनी जाडो यामको खाजा हो । जमिनमुनी फल्ने यो कन्दमुल खादा जति स्वादिलो छ उत्तिकै पोषिलो पनि छ। बिशेषगरी पहेलो रङको सखरखन्डलाई भिटमिनको राम्रो स्रोत हो ।
सखरखण्ड सारै स्वादिलो र पोसिलो कन्दमूल हो। शरीरलाई ऊर्जा दिने कार्बोहाइड्रेटदेखि विभिन्न खनिज र भिटामिन पाइने सखरखण्ड भाते बानीको राम्रो विकल्प पनि हो। यसमा प्रति १०० ग्राममा ११६ क्यालोरी, ३।९ ग्राम फाइबर, वयस्कको दैनिक आवश्यकताको २० प्रतिशत भिटामिन सि, २ प्रतिसत भिटामिन ए पाईन्छ ।
भिटामिन ‘ए’ को राम्रो स्रोत सुठुनी खाँदा आँखा स्वस्थ हुने, रोग प्रतिरोधी क्षमता मजबुत हुनेदेखि यसमा भएको पोटासियम र म्याग्नेसियमले रक्तसञ्चारलाई सन्तुलनमा राखी मुटु स्वस्थ बनाउने, घुलनशील फाइबरले शरीरमा खराब कोलेस्टेरोल नियन्त्रण गर्न र पाचन प्रणाली स्वस्थ राख्नसम्म सहयोग गर्छ। सुन्तला रंगको सखरखण्ड पोषणका हिसाबले झनै फाइदाजनक मानिन्छ।
आधुनिकताका नाममा पछिल्लो पुस्ता तरुल, भ्याकुर, गिठ्ठा र सखरखण्ड खान चाउँदैनन्। कहिलेकाहिँ भोकमरीले गर्दा तरुल, गिठ्ठा खाइरहेको समाचार आउँछ। पोषणका दृष्टिले तरुल, गिठ्ठा खान पाउनु भोकमरी हैन झन् फाइदाजनक हो। पछिल्लो समय सखरखण्डलाई व्यावसायिक रूपमा उत्पादन गर्ने चलन पनि सुरु भएको छ। थोरै मेहेनतमा उब्जाउन सकिने सुठुनीको व्यावसायिक उत्पादनले अर्थतन्त्र र कुपोषण न्यूनीकरण दुवैमा टेवा पुग्न सक्छ।