काठमाडौ । सरकारले फेब्रुअरी महिनालाई आयोडीन सचेतना महिनाका रुपमा मनाउने भएको छ । आयोडीनको कमीबाट हुने स्वास्थ्य समस्याबाट बच्न आयोडीनयुक्त नुनको मात्र उपभोग गराउन हरेक बर्ष फेब्रुअरी महिनालाई आयोडीन महिनाका रुपमा मनाइदै आइएको छ ।
यस बर्ष “उचित मात्रामा आयोडीनयुक्त नुन खाऔ, आयोडीनको कमीका कारण हुने समस्याबाट बचौ” भन्ने नाराका साथ आयोडीन सचेतना महिना मनाउन लागिएको स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लिलाबिक्रम थापाले जानकारी दिनुभयो । थापाका अनुसार फेब्रुअरी महिनाभर दुई बालबालिकाको चिन्ह भएको आयोडिनयुक्त नुनको सहि मात्रामा उपभोग गर्नेबारे आम सर्वसाधारणमाझ सचेतना अभिवृद्धि गर्न संघ, प्रदेश र स्थानीय तहबाटै विभिन्न कार्यक्रमहरु सञ्चालन हुनेछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणको जोखिम नहुने गरि फेब्रुअरी महिनाभर आयोडीन सचेतना महिनाका विभिन्न गतिविधिहरु सञ्चालन गर्न सबै प्रदेश तथा स्थानीय तहहरुलाई पत्राचार गरिसकेको छ ।
आयोडीन मानिस तथा जीवजस्तुलाई बाच्नका लागि नभइ नहुने एक शुक्ष्म खनिज तत्व हो । नेपालका धेरै जसो बालबालिकामा सन् १९९० को दशकसम्म आयोडीनको कमीको कारणले गर्दा हुने विकृतिहरु गलगाँड र शारीरिक र मानसिक रुपले क्रेटिनिज्य भनिने लाटो लठ्यौरोपन समस्याका रुपमा रहेको थियो । नेपाल सरकारले सन् १९७३ देखि लागू गरेको नूनमा आयोडीन मिसाएर विक्री वितरण गरिने यूनिभर्सल साल्ट आयोडाइजेशनको कार्यक्रमले गर्दा ९० को दशकपश्चात आयोडीनको कमीका कारण हुने समस्या समाधान हुदै गएको छ ।
सन् २०१६ मा गरिएको नेपाल सूक्ष्म पोषक वस्तुस्थिति सर्भेक्षणका अनुसार यो कार्यक्रमको सफलताले गर्दा नेपालका ९० प्रतिशत भन्दा बढी घरपरिवारले प्रशस्त रुपले आयोडीन भएको नून खाइ रहेका छन् । यदि आयोडीनयुक्त नुन खान छाड्ने हो भने उक्त समस्या फेरि दोहोरिन सक्ने विज्ञहरुले बताउदै आएका छन् ।
नुनको बढि उपभोगले पनि निम्त्याउछ समस्या
नुनको बढि उपभोगले विभिन्न नसर्ने रोगहरु लाग्न सक्ने अध्ययनहरुले देखाएका छन् । स्टेप सर्भेक्षण २०१९ को अनुसार नेपालमा औसत रुपले ९.१ ग्राम नून प्रति व्यक्ति प्रतिदिनका रुपले खाइरहेको छ । विश्व स्वास्थ्य संगठनले दैनिक ५ ग्राम नून खाएमा आवश्यक मात्रामा आयोडीन पाउँन सकिने बताएको छ । नुनको बढि उपभोगले उच्च रक्तचाप लगायतका समस्या निम्तिने भएकाले दुई बालबालिकाको चिन्ह भएको आयोडीनयुक्त नुन उचित मात्रामा मात्र सेवन गर्न विज्ञहरुले सुझाएका छन् ।