काठमाडौ । यस बर्षको विश्व स्तनपान सप्ताह विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । स्वास्थ्य सेवा विभाग अन्तगतको परिवार कल्याण महाशाखाले आज पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार अगष्ट १ देखि ७ सम्म मनाइने विश्व स्तनपान सप्ताहमा संघ, प्रदेश र स्थानीय तहमा विभिन्न कार्यक्रमहरु आयोजना हुनेछन् ।
स्तनपान संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले सन् १९९२ देखि हरेक बर्ष अगष्ट १ देखि ७ सम्म संसारभर विश्व स्तनपान सप्ताह मनाइदै आइएको छ । यस बर्ष स्तनपान सप्ताहको नारा “हामी सबैको साझा जिम्मेवारी, स्तनपान संरक्षण हुन्छ प्रभावकारी” भन्ने तय गरिएको पोषण शाखाका प्रमुख केदार पराजुलीले बताउनु भयो ।
सरकारले स्तनपानलाई संरक्षण र सम्बद्र्धन गर्न तथा सबै प्रकारका कुपोषण न्युनीकरणका लागि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोख्रेलले बताउनु भयो । डा. पोख्रेलका अनुसार महाशाखाले स्तनपानलाई संरक्षण र सम्बद्र्धन गर्न हरेक स्थानीय तहहरु र विमानस्थलहरुम्मा स्तनपान कक्षको स्थापना गरेको छ भने अस्पतालहरुमा स्तनपानलाई प्रबद्र्धन गर्न तथा बट्टाको दूधलाई निरुत्साहित गर्न मातृ, शिशुमैत्री अस्पताल कार्यक्रम लागु गरिरहेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले स्तनपानलाई प्रबद्र्धन गर्न सबैले योगदान गर्नु पर्ने बताउनु भयो । पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जीवनको पहिले खोप नै आमाको दूध भएकाले शिशुको जीवन रक्षाका लागि र स्वस्थ जनशक्ति उत्पादनका लागि स्तनपान पहिलो शर्त भएको बताउनु भयो । कोभिड १९ महामारीका अवस्थामा स्तनपानको झनै महत्व हुने भएकाले कोभिड संक्रमित आमाले पनि सावधानी अपनाएर स्तनपान गराउन सक्ने बारेमा सबैलाई सचेतना फैल्याउनु पर्ने प्रवक्ता डा. पौडेलको जोड थियो ।
नेपालमा स्तनपानको अवस्था
सरकारले विभिन्न कार्यक्रमहरु गरिरहेको दाबि गरिरहेता पनि नेपालमा स्तनपानको दर भने निरासाजनक तवरले घटिरहेको छ ।नेपाल मल्टि इन्डिकेटर क्लष्टर सर्वे (मिक्स) २०१९ अनुसार नेपालमा शिशु जन्मेको १ घण्टा भित्रै स्तनपानको सुरुवात गर्नेको संख्या ४२ प्रतिशत रहेको छ भने पूर्ण स्तनपान गराउनेको संख्या ६२ प्रतिशत रहेको छ । त्यस्तै उक्त सर्वेक्षण अनुसार २ बर्षसम्म स्तनपान गराउनेको संख्या ८७.६ प्रतिशत रहेको छ । २०१९ को यो तथ्यांक २०१६ नेपाल जनसांख्यीक तथा स्वास्थ्य सर्वेक्षण भन्दा कमजोर हो ।
नेपाल जनसांख्यीक तथा स्वास्थ्य सर्वेक्षण २०१६ को तथ्यांक अनुसार नेपालमा पूर्ण स्तनपान गराउनेको संख्या ६६ प्रतिशत र शिशु जन्मेको १ घण्टा भित्रै स्तनपान गराउनेको संख्या ५५ प्रतिशत छ भने शिशु जन्मेदेखि २ बर्षसम्म स्तनपानलाई निरन्तरता दिनेको संख्या ८९ प्रतिशत रहेको छ । त्यसैगरी जन्मनासाथ स्तनपान गराउनु अघि १० जना नवजात शिशुहरु मध्ये ३ जना नवजात शिशुहरुलाई घ्यू, मह, चिनि आदि चटाउने गरेको पाइएको छ । नेपालमा शिशु जन्मे देखि १ महिना सम्म आमाको दूध मात्र खुवाउनेको संख्या ८० प्रतिशत रहेको छ । तर शिशु २ देखि ३ महिना सम्मको हुँदा आमाको दूध मात्र खुवाउनेको संख्या घटेर ७२ प्रतिशत मात्र रहेको छ । नेपालमा शिशुलाई कहिल्यै पनि स्तनपान नगराएको संख्या भने १ प्रतिशत मात्रै छ । काठमाण्डौं उपत्यकाका अस्पतालहरुमा गरिएको एक अध्ययनले फर्मुला दूधहरुको बढ्दो प्रयोग अपरेसन गरेर जन्मेका शिशुहरुमा बढि पाइएको थियो ।
नेपाल जनसांख्यीक तथा स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार नेपालमा ५ बर्ष मुनीका ३६ प्रतिशत बालबालिकाहरु पुड्कोपना, १० प्रतिशत ख्याउटेपना, २७ प्रतिशत कम तौल र ५३ प्रतिशत रत्तअल्पताबाट ग्रसित छन् । नेपालमा हुने बाल मृत्युदरको ५३ प्रतिशत कारक कुपोषण रहेको पाइएको छ । विज्ञहरुका अनुसार स्तनपानले कुपोषण र बाल मृत्युदर कम गर्न ठुलो योगदान गर्दछ ।
.