नारायणगढ । बहुउपयोगी चिउरीका बिरुवा संरक्षण हुन नसक्दा यहाँका किसानले पर्याप्त मात्रामा मह उत्पादन गर्न सकिरहेका छैनन् । चितवनको कालिका नगरपालिकाको वडा नं ९, १० र ११ का सामुदायिक वनमा चिउरीको संरक्षण हुन नसक्दा मह उत्पादनमा कमी आएको छ ।
कालिका–११ का वडाध्यक्ष कृष्णबहादुर प्रजा पशुचौपाया छाडा छोड्दा, डढेलो लगाउँदा तथा बर्सेनि आउने बाढीपहिराका कारण चिउरीका बोटबिरुवाको संरक्षण हुन नसकेको बताए । । “डिभिजन वन कार्यालय, मौरीपालन विकास कार्यालयले चिउरीको बिरुवा उपलब्ध गराएको छ”, वडाध्यक्ष प्रजाले भने, “ती बिरुवा रोपिए पनि संरक्षण हुनसकेको छैन, जसका कारण मह उत्पादनमा समेत असर परेको छ ।”
उनका अनुसार कालिका–११ मा करिब चार हजार चिउरीका बिरुवा छन् तर संरक्षण हुन नसक्दा बिरुवाको सङ्ख्या घट्दै गइरहेको छ । बिरुवाको संरक्षण गर्न सम्बन्धित निकायले चासो नदिँदा चिउरी संरक्षणमा असर परिरहेको छ । वडा नं ११ को चित्राम सामुदायिक वन र इन्द्रेणी सामुदायिक वनमा चिउरी पाइन्छ ।
स्थानीयवासी ज्ञानीमाया चेपाङले धेरथोर चिउरी रोप्ने काम भए पनि संरक्षण हुन नसक्दा मौरीपालन व्यवसाय फस्टाउन नसकेको बताउछन् । “चेपाङ समुदायमा अझै पनि चिउरीको महत्व र यसका फाइदा बुझाउन सकिएको छैन, चेतना अभावका कारण पनि चिउरीको संरक्षण हुनसकेको छैन”, उनले भने, “चिउरीको फल सुकाएर तेल निकालिएको छ, यसको फल खाएर स्वस्थ जीवन जिउन पाइएको छ, यसको घाँसबाट गाई, भैँसी, बाख्रा पालिएको छ । यस्तो बहुउपयोगी फलको संरक्षणमा चासो कम भइरहेको छ ।”
कालिका–१० का वडाध्यक्ष दिलबहादुर गुरुङ चिउरीको पकेट क्षेत्र छुट्याएर तारबार गरी नेट जाली हालेर संरक्षण गर्न सकिने बताउछन् । उनले भने, “चिउरीको संरक्षण नहुँदा मह उत्पादनमा कमी आएको छ ।” वडा नं १० को बटौली सामुदायिक वन, देउजर सामुदायिक वन र निधाटार सामुदायिक वनमा चिउरीको बिरुवा पाइन्छ ।
उनका अनुसार एउटा चिउरीको बिरुवालाई कम्तीमा पाँच वर्ष संरक्षण गर्नुपर्छ । कम्तीमा १२ वर्षमा बल्ल चिउरी फल्न र फुल्न थाल्छ । उनले भने, “चिउरी रोपेको १५ वर्षपछि बल्ल यसको फाइदा लिन सकिन्छ, तर दुईरतीन वर्षमै चिउरी मासिएको छ ।” विगतका वर्षमा कालिका नगरपालिका, डिभिजन वन कार्यालय चितवन, मौरीपालन विकास कार्यालय भण्डाराले चिउरी रोपनको कार्यक्रम चलाएका थिए तर पनि चिउरीको संरक्षण हुन सकिरहेको छैन ।
चितवनको मौरीपालन विकास कार्यालय भण्डाराले नगरपालिकाका पहाडी वडाहरुमा वर्षको एक हजारको हाराहारीमा चिउरीको बिरुवा पठाइरहेको छ । कार्यालय प्रमुख बाबुराम पन्तले यस वर्ष पनि एक हजारको हाराहारीमा चिउरीका बिरुवा पठाइएको बताए । नेपाल मौरीपालक महासङ्घका केन्द्रीय अध्यक्ष शिव शर्मा पौडेलले चिउरी जोगाउन सके चितवनको चिउरीको मह नेपालमा मात्र होइन, विश्वमै ख्याति कमाउन सक्ने बताउछन् । उनले भने, “चिउरीको फूल चुसेर मौरीले निकालेको मह स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक छ, तर चिउरीको संरक्षण हुन नसक्दा मह उत्पादनमा कमी आइरहेको छ ।” चितवनमा विसं २०७५ मा ८०० मेट्रिक टन मह उत्पादन भएकामा २०७६ मा घटेर ५०० मेट्रिक टन भएको छ । विसं २०७७ मा ३०० मेट्रिक टन मह उत्पादन भएको थियो ।
-रासस