कृषि उत्पादनलाई बढाउनका लागि प्रयोग गरिने विषादीको सुरक्षित तथा न्यायोचित प्रयोग हुन नसक्नाका कारण वातावरणीय तथा मानविय स्वास्थ्य समस्या निम्तीइरहेका छन् । अन्य मुलुकहरुको तुलनामा नेपालमा रसायनिक विषादीको प्रयोगको मात्रा कम नै हुने गरेको देखिएता पनि वातावरण तथा जनस्वास्थ्यमा भने चुनौती रहेको विज्ञहरुको भनाई तथा विभिन्न अध्ययनहरुले देखाएका छन ।
नेपालमा विषादी प्रयोगको स्थिति
नेपालमा प्रथम पटक सन् १९५२ मा औलो रोग नियन्त्रणको लागि डिडीटी आयात गरिएको । सन् १९५५ मा पुनः सोही प्रयोजनको लागि डिडीटी आयात भयो । बालीमा प्रयोग गर्न १९५६ मा डिडीटी आयात गरियो । २०७७ असार मसान्तसम्म ६ वटा विषादी संश्लेषक, २७ वटा विषादी व्यवसायिक प्रयोगकर्ता, २७८ वटा विषादी आयातकर्ता र १५१२९ विषादी खुद्रा विक्रेता रहेका छन् ।
नेपालको प्रायः जसो सबै खेतीयोग्य जमिन प्रयोग भैसकेको र सीमित जमिनबाट बढि उत्पादन दोव्वर गर्नुपर्ने अवस्थालाई विचार गर्दा उपयुक्त योजना, भूउपयोग, वैज्ञानिक कृषिबाट र कृषि सामाग्रीको न्यायोचित प्रयोगबाट जमिनको उत्पादकत्व र उत्पादन बढाउन सकेमा राष्ट्रको बढ्दो जनसंख्यालाई आवश्यक गास, बास र कपास राष्ट्रमै उत्पादन हुन सक्ने सम्भावना देखिन्छ । कुनै बेला दक्षिण एशिया मै उल्लेख्य रहेका नेपालको कृषि उत्पादन यति बेला विश्वकै कम हुन पुगेको छ । अझ कुनै समय मुलुकमा झण्डै आधा दर्जन धान चामल निर्यात गर्ने कम्पनी थिए भन्दा आश्चर्य मान्नु पर्ने अवस्था छ । नेपालमा कृषि विकासको समस्यालाई गहिरिएर विश्लेषण गर्नु पर्दा दिगो कृषि विकासको लागि वातावरण एवं समय अनुकूल उपयुक्त पविधि र रासायनिक मल र विषादीको समुचित प्रयोग एवं सही बिकल्पको खांचो नै विद्यमान न्यूनतम उत्पादकत्व र वातावरण प्रदुषणको प्रमुख कारण देखिन्छ ।
नेपालमा ३९६ ग्राम प्रति हेक्टर विषादीको औसत प्रयोग हुने गरेको सरकारी तथ्यांक छ । बाली अनुसार चियामा २१०० ग्राम खास विष प्रति हेक्टर, कपासमा २५६० ग्राम खास विष ग्राम प्रति हेक्टर, तरकारीमा १६०५ ग्राम खास विष प्रति हेक्टर, अन्य वालीहरुको हकमा विषादीको प्रयोगको अवस्था हेर्दा अन्नवालीमा ४६ ग्राम खास विष प्रति हेक्टर, नगदेवालीमा १८६ ग्राम खास विष प्रति हेक्टर, दालवालीमा ५० ग्राम खास विष प्रति हेक्टर, फलफुलमा २९ ग्राम खास विष प्रति हेक्टर रहेको छ । भौगोलिक अवस्थाका आधारमा विषादीको प्रयोगको अवस्था हेर्दा हिमालमा ८५ ग्राम खास विष/हेक्टर, पहाडमा ३१५ ग्राम खास विष/हेक्टर, तराईमा ९९५ ग्राम खास विष/हेक्टर, उपत्यकाको हकमा ४७० ग्राम खास विष/हेक्टर रहेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको तथ्यांकले देखाउछ ।
विषादीको विषालुपना
जीवनाशक विषादीको विषालुपन भनेको उचित सावधानी नपु¥याई विषादीलाई संचालन/प्रयोग गरिएको अवस्थामा यो कति खतरापूर्ण हुन सक्छ त्यसको मापन हो । “विषालुपन”ले शारीरिक वा जैविक गुण जनाउँछ, जसबाट यान्त्रिक कारणबाट नभई रसायनको प्रभावको कारणबाट जीवित प्राणीलाई कतिसम्म नोक्सान वा पिडा पु¥याईएको हुन्छ त्यो निर्धारण गरिन्छ । विषादीका शीघ्र विषालुपना र दिर्घ विषालुपना गरी दुई प्रकारका विषालुपना हुन्छन् ।
विषादीको ठूलो एकल मात्रा कुनै पनि माध्यमबाट शरिर भित्र प्रबेश हुनु वा पटक पटक सानो सानो मात्रा छोटो समयको अन्तरमा शरिर भित्र प्रबेश भई विषादीको घातकता देखिन्छ वा अनुभव गरिन्छ भने त्यसलाई शीघ्र विषालुपना भनिन्छ । विषादीको तिव्र वा शीघ्र विषाक्तता विषादीमा एकै पटक वा पटक पटकको सिधा सम्पर्कबाट हुन्छ । त्यस्तै लामो समयसम्म प्रत्यक्ष/अप्रत्यक्ष रुपमा विषादीको स—साना मात्रा सेवन हुन आएमा वा विषादीको अवशेषयुक्त उत्पादन (अन्न, फलफुल, तरकारी आदी) सेवन गर्दा त्यसबाट देखिने वा अनुभव गरिने नकारात्मक असर दीर्घ विषालुपन हो । विषादीको दीर्घ विषाक्तता विषादीको कम-कम मात्रामा लामो समयदेखिको सम्पर्कबाट हुन्छ ।
विषादीबाट मानव स्वास्थ्यमा असर
विषादीका असर तत्काल देखिने र दीर्घ कालमा देखिने गरी दुई खालका हुन्छन् । विषादीका अल्पकालीन अथवा तत्कालमा देखिने असरहरुमा रिंगटा लाग्नु, पक्षपात आक्रमण, थाकेको महसुस हुनु, होस हराउनु, टाउको दुख्नु, वान्ता हुनु, स्वाँ स्वाँ हुनु, खोकी लाग्नु, छाती दुख्नु, माशंपेशी थाक्नु, वाकवाकी लाग्नु, दिशा पखाला लाग्नु, छाला लाटो हुनु, छाला फुट्नु, अनिन्द्रा, आँखी भौँ फरफराउनु, आँखा रातो हुनु, पोल्नु, धमिलो देख्नु, नाक पोल्नु, पातलो सिगान बगिरहनु आदि हुन् ।
विषादीको पटक-पटक सानो मात्रा शरिरमा गएर दीर्घकाल पछि पनि प्राणघातक असरहरु पनि देखिन्छन् । खासगरी विषादीका दीर्घकालीन असरहरुमा दीर्घकालीन वा पछि देखिने असरमा क्यान्सर/ट्युमर, स्वास प्रस्वाससम्बन्धी रोगहरु, स्नायूजन्य र व्यावहारजन्य असरहरु मुख्य हुन् । विषादीका कारण दीर्घकालमा प्यारालाइसिस हुने, बंशानुगत परिबर्तन, कलेजो खराबी हुने देखि प्रजनन् क्षमतामा कमि वा बाँझोपन/नपुंशकता वा मानशिक असंतुलन पनि हुन सक्दछ ।
विषादीको विशाक्तताबाट बच्ने उपायहरु
रसायनिक विषादीको घातक असरबाट बच्नलाई उपभोक्ताभन्दा बढि उत्पादक किसान र भण्डारण वा बिक्रिकर्ताहरु बढि सचेत र जिम्मेवार हुनु पर्दछ ।
- उपभोक्ताले तरकारी तथा फलफु खरिद गर्दा विषादी अवशेष बढि छ कि भन्ने कुरामा चनाखो रहने ।
- अनावश्यक रुपमा विषादी प्रयोग नगर्ने ।
- विषादी प्रयोग गर्ने बित्तिकै बालीनाली (तरकारी तथा फलफुल) को वेचविखन तथा उपभोग नगर्ने, पर्खनु पर्ने समय पर्खिएर मात्र बजारमा लाने । पर्खनुपर्ने समय र अवशेषको सहन सीमा र विश्व स्वास्थ्य संगठनको श्रेणी विभाजन, विषालुपना र विषादीको लेवलमा सावधानीका लागि रहने रङ्ग (रातो, पहेंलो, निलो, हरियो) आदिको जानकारी राख्ने ।
- विषादी छर्कंदा अत्यावश्यक सुरक्षा पहिरन तथा सावधानी व्यवस्थाको पालना गर्ने ।
- बाली नालीमा विषादीको प्रयोग गर्दा अनिवार्य कृषि प्राविधिकहरुको सल्लाह लिने र प्रतिवन्धित विषादीको बारे जानकारी राख्ने ।
- कृषकले रोग÷कीरा व्यवस्थापनमा सम्भव भए सम्म एकिकृत शत्रुजीव व्यवस्थापन (आइ.पि.एम) लगायत अन्य वैकल्पिक बाली संरक्षण विधिहरुको प्रयोग गर्ने । विषादीको प्रयोग गर्नै परेमा कम विषालु तर प्रभावकारी विषादीको मात्र प्रयोग गरौं र विषादी प्रयोग गर्दा सुरक्षित पहिरनहरुको अनिवार्य प्रयोग गर्ने ।
- विषादीको प्रयोग गर्दा प्रयोगकर्ताको सानो गल्तिले ठुूलो दुर्घटना र हानी नोक्सानी हुन सक्ने भएकोले विषादीको लेवल (सूचक पत्र) मा लेखिएका निर्देशनहरु राम्ररी अध्ययन गरी पालना गर्ने ।
- विषादीलाई केटाकेटिको पहुंच भन्दा टाढा राख्ने ।