spot_img

कर्णालीमा कुपोषण भयावह

spot_img

कर्णाली । खाँडाचक्र नगरपालिका–५, राताडाबका जुम्ल्याहा बालिका झाडापखालाले बिरामी भएपछि एक साताअघि दाहाँ स्वास्थ्यचौकी पुर्‍याइयो । उनीहरूमा कडा कुपोषण देखिएपछि स्वास्थ्यचौकीले जिल्ला अस्पताल रेफर गर्‍यो । दुई दिनअघि मात्र कुपोषणग्रस्त खाँडाचक्र–२ की १० महिने बालिकालाई पनि अस्पतालमा भर्ना गरिएको छ ।

कर्णालीमा यस्ता थुप्रै बालबालिका कुपोषणको सिकार भइरहेका छन् । साउनयता मात्रै कालीकोटमा कडाखाले कुपोषण देखिएका १८ बालबालिकाको उपचार गरिएको जिल्ला अस्पतालले जनाएको छ । तीमध्ये ८ जना अहिले पनि उपचाररत छन् । ‘अवस्था जटिल भएपछि मात्र अस्पताल पुर्‍याउने चलन छ,’ अस्पतालका डा। सन्दीप चौधरीले भने, ‘त्यसैले कुपोषित बालबालिकाको उपचारमा समय लाग्ने गरेको हो ।’ चरम लैंगिक विभेद, पोषणसम्बन्धी चेतनाको कमी, महिलालाई अत्यधिक घरायसी बोझ र स्याहारसुसारमा बेवास्तालगायत कारणले कालीकोटमा कुपोषणको समस्या बढ्दै गएको उनले बताए ।

पछिल्लो एक वर्षमा जिल्लाभरिका १ सय ६८ बालबालिकामा कडा कुपोषण देखिएको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटकबहादुर महतले बताए । तीमध्ये ६७ जना निको भइसकेका छन् । बाँकी उपचारका क्रममा छन् । जिल्लाभरि ११ वटा उपचार केन्द्र स्थापना गरी कुपोषित बालबालिकाको उपचार गरिरहेको उनले बताए । संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफले गरेको एक अध्ययनमा कालीकोटमा ६५ प्रतिशत बालबालिकामा कुपोषण देखिएको उल्लेख छ ।

मुगुमा पछिल्लो ६ महिनामा १ सय ८ बालबालिकामा कडा कुपोषण देखिएको छ । सबैभन्दा बढी दलित समुदायका ७५ जना छन् । जिल्लाका ९ दशमलव २ प्रतिशत बालबालिकामा गम्भीर र ४४ प्रतिशतमा मध्यमखालको कुपोषण देखिएको छ । गरिबी, खानपिनको अभाव र सरसफाइको कमीले कुपोषण देखिएको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी परशुराम नेपालीले बताए ।

‘स्थानीयभन्दा तराईबाट आएको खाद्यान्न बढी उपभोग गर्ने बानीले कुपोषण बढाइरहेको छ,’ उनले भने, ‘स्थानीय उत्पादनको उपभोग बढाउन सके एक वर्षमै कुपोषण घट्छ ।’ उनका अनुसार कुपोषित बालबालिकालाई दुई महिना स्वास्थ्यकर्मीको निगरानीमा राखी उपचार गर्ने गरिएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार गत वर्ष ६ सय ३ र आर्थिक वर्ष २०७५/७६ मा १ हजार २६ जना बालबालिकामा कुपोषणको समस्या देखिएको थियो ।

एक चौथाइले पाउँछन् पूर्ण खाना

कर्णालीमा कुपोषणले जरा गाड्नुको प्रमुख कारण पर्याप्त र पोषिलो खाना खान नपाउनु हो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यहाँका एकचौथाइ नागरिकले मात्र पूर्ण रूपमा खानाको विविधता उपभोग गर्न पाउने गरेका छन् । ‘धेरैले सधैं एकै प्रकारको खाना खाइरहेका छन्, छाक टार्नै मुस्किल भइरहँदा ‘हरेक बार खाना चार’को जोहो गर्न यहाँका नागरिकलाई मुस्किल छ,’ निर्देशनालयकी वरिष्ठ नर्सिङ अधिकृत मानकुमारी गुरुङले भनिन्, ‘पोषणयुक्त खानाको अभावकै कारण कर्णालीका बालबालिका कुपोषणको सिकार भएका हुन् ।’

कर्णालीका २९ दशमलब ५ प्रतिशतले मात्रै खानामा विविधता उपभोग गर्न पाएको उनले बताइन् । निर्देशनालयका अनुसार १७ दशमलब ६ प्रतिशत बालबालिकामा ख्याउटेपना र ३७ दशमलब ४ प्रतिशतमा कम तौलको समस्या देखिएको छ । ४८ प्रतिशत बालबालिका रक्तअल्पताबाट ग्रसित भएको गुरुङले बताइन् ।

मुगुमा कुपोषण न्यूनीकरणका लागि सरकारी र गैरसरकारी निकायबाट बर्सेनि करोडौं रकम खर्च भए पनि प्रतिफल न्यून छ । ७ वर्षदेखि विश्व खाद्य कार्यक्रमले सप्रोस नेपालमार्फत ५ वर्षमुनिका बालबालिका र गर्भवतीलाई प्रतिमहिना ३ किलो पौष्टिक आहार वितरण गरिरहेको छ । कार्यक्रममार्फत सन् २०१३ देखि अहिलेसम्म करिब १ हजार २ सय मेट्रिक टन पौष्टिक आहार वितरण भइसकेको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । हरेक वर्ष कम्तीमा ५ हजार बालबालिकालाई पौष्टिक आहार वितरण गरिने कार्यालयका सूचना अधिकारी परशुराम नेपालीले बताए । तर, अभियान सफल नहुँदा बालबालिकामा कडा खालको कुपोषण बढिरहेको उनको भनाइ छ ।

अभिभावकले नियमित रूपमा पौष्टिक आहार बालबालिकालाई नखुवाउँदा कार्यक्रमको प्रभाव नदेखिएको सप्रोस नेपालका कार्यक्रम संयोजक नरेन्द्र रावलले बताए । संस्थाले पौष्टिक आहार वितरण र सचेतनामूलक कार्यक्रममा वर्षमा झन्डै ४ करोड रुपैयाँ खर्चिरहेको उनले जानकारी दिए । युनिसेफले पनि चारवटै स्थानीय तहमा कुपोषण न्यूनीकरण कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममार्फत एउटा पालिकामा बर्सेनि २६ देखि ३० लाख रुपैयाँसम्म खर्च भइरहेको छ । छायानाथरारा नगरपालिकाले सुत्केरीलाई कुखुरा, अन्डा र तरकारीको बीउ निःशुल्क वितरण गरिरहेको स्वास्थ्य संयोजक शिवहरि रोकायाले बताए ।

कर्णाली प्रदेश सरकारले पनि कुपोषण न्यूनीकरण कार्यक्रम लागू गरेको छ । १० वटै जिल्लामा बहुक्षेत्रीय पोषण योजनाअन्तर्गत कार्यक्रम थालिएको छ, जसअनुसार खाद्यान्न अभाव भइरहने हिमाली जिल्लामा खाद्यान्न वितरण भइरहेको छ । तर कर्णालीको माथिल्लो क्षेत्रमा पर्ने जिल्लामा कुपोषणको अवस्था भयावह छ । मुगुमा कुपोषणको समस्या बढ्दै गएपछि ७ स्थानबाट जाँच र उपचारको व्यवस्था मिलाइएको छ । जिल्ला अस्पतालसहित रातापानी प्राथमिक स्वास्थ्य केन्द्र, श्रीकोट, नार्थपु, कालै, धैनकोट र माग्री स्वास्थ्यचौकीबाट कुपोषण जाँचको व्यवस्था मिलाइएको हो ।

स्थानीय खाना प्रवर्द्धन अभियान

कुपोषण घटाउन खाँडाचक्र नगरपालिकाले स्वास्थ्यकर्मी खटाई स्थानीय खाना प्रवर्द्धन गर्दै आएको छ । ‘सुनौला हजार दिन’ का आमा र बालबालिकामा हुने कुपोषण हटाउन ११ वटै वडामा कार्यक्रम लागू गरिएको नगरपालिकाले जनाएको छ । स्थानीय खाद्यवस्तुको संरक्षण गर्दै टोलटोलमा पकाउने र खाने विधि सिकाउँदै आएको नगर स्वास्थ्य शाखा प्रमुख रवीन्द्र सेजुवालले बताए । उनका अनुसार नगरपालिकाले ‘हरेक बार, खाना चार’ अभियान पनि चलाएको छ । ‘गाउँमा कोदो, फापरको ढिँडो, पाकेको फर्सी, हरियो सागको हलुवा, केरा, अन्डा पकाएर सुत्केरी तथा गर्भवतीलाई बाँडिरहेका छौं,’ उनले भने ।

कान्तिपुर दैनिकबाट

.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रसायन हालेर पकाइएको आँप कसरी चिन्ने?

आँप, केरा, मेवा, अम्बाजस्ता फल रुखमा छिपिएपछि नपाके पनि टिपिन्छ। यसरी काँचै टिपिने फल टिपिसकेपछि प्राकृतिक रुपमा आफै वा...

‘आमाको दूधको विकल्प खोज्नु दुःखद्’

काठमाडौं- पच्चीस वर्षमा पूर्ण स्तनपान गराउने प्रवृत्ति ७५ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल...

नियन्त्रण भएन तरकारीमा विषादी

काठमाडौँ । काठमाडौ उपत्यकामा भित्रिने तरकारीमा विषादीको अवशेष खान मिल्नेभन्दा बढि मात्रामा पाइएको छ । कालीमाटी तरकारी तथा फलफूल...

विद्यालय खाजाको मेनुमा फर्सिको खीरदेखि कोदोको हलुवासम्म

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकालाई विद्यालयमा दिइने दिवा खाजाको...
spot_img

अन्य सम्बन्धित