भिस्मा राई, डाइटिसियन
कहिलेकाहि खाना खाएको लामो समय हुदा वा अन्य कुनै कारणले एकदमै कमजोर भएको, रिंगटा लागेकोजस्तो भइरहेको हुन सक्छ । रगतमा चिनीको मात्रा कम भएर हुने यस्ता समस्या स्वस्थ व्यक्तिको तुलनामा मधुमेह भएकाहरुमा कयौ गुणा धेरै हुन्छ र तत्काल उपचार गरिएन भने ज्यान पनि जान सक्छ ।
रगतमा चिनीको मात्रा हुनु पर्ने भन्दा धेरै कम भएर हुने यस्तो अवस्थालाई मेडिकल भाषामा हाइपोग्लाइसेमिया भनिन्छ । रगतमा चिनीको मात्रा ७० एम जि प्रति डिएल (mg/dl) भन्दा कम भएमा हाइपोग्लाइसेमिया हुन्छ । यसलाई बेवास्ता गरे ज्यानै पनि सक्छ ।
हाइपोग्लाइसेमियाका कारणहरु
सामान्यतया मधुमह भएका व्यक्तिहरुमा तलका कारणले हाइपोग्लाइसेमिया हुन्छ
- इन्सुलिन वा औषधिको मात्रा धेरै भएमा वा सो अनुसार खानाको मात्रा अपुग भएमा
- इन्सुलिन वा औषधि खाइसके पछि खाना खान ढिलो भएमा वा भोकै बसेमा
- अचानक शारिरिक व्यायम सधै भन्दा धेरै भएमा
- बिरामी भएर खाना नरुचेमा
हाइपोग्लाइसेमियाका लक्षणहरु
रगतमा चिनीको मात्रा कम हुँदा देखा पर्ने लक्षणहरु प्रत्येक व्यक्तिमा फरक हुन्छ । एउटै व्यक्तिमा पनि सधै एउटै लक्षण देखा नपर्न सक्छ । त्यसैले मधुमेहीले घर मै ग्लुको मिटरको सहायताले नियमित सुगर जाँच गरिरहनु पर्दछ । सामान्यतया हाइपोग्लाइसेमिया हुदा तलका लक्षणहरु देखिन्छन :
- अत्यधिक भोक लाग्नु
- कमजोरी महशुस हुनु
- चिटपिट पसिना आउनु
- मुटुको ढुकढुकी बढ्नु
- रिंगटा लग्नु आखा अगाडी अध्यारो हुनु
- छटपटी हुनु
- टाउको दुख्नु
- आँखा धमिलो हुनु बेहोस होला जस्तो हुनु
यदि यस्ता लक्षणहरु देखिएमा तुरुन्त उपचार गरि हाल्नु पर्दछ अन्यथा स्थिति गम्भिर बन्न सक्छ ।
रोकथाम तथा उपचार
- मधुमेहको बिरामीले चिनी, ग्लुकोज, क्यान्डी, चकलेट जस्ता गुलियो पदार्थ अनिवार्य साथमा राख्नु पर्छ ।
- यदि रगत मा चिनीको मात्रा कम भएको महसुस भएमा तुरुन्त कार्बोहाईड्रेटयुक्त खानेकुरा जस्तै: चकलेट, ग्लुकोज वा जुस खानुपर्छ ।
- रगतमा चिनीको मात्रा सामान्य अवस्थामा आइसकेपछि पुन हाइपोग्लाइसेमियाबाट बच्न नट्स वा खाना खाने । चकलेट वा गुलियो बस्तु मात्र खाएर बस्नु हुदैन । त्यस्ता बस्तुले क्षणिक समय सम्म मात्र हाइपोग्लाइसेमियाबाट बचाउँछ । दीर्घकालीन समाधान भनेको समय मिलाएर सन्तुलित खाना खाने र नियमित औषधीको उचित प्रयोग नै हो ।
- रगतमा चिनीको मात्रा कति छ भनेर समय समयमा घरमै ग्लुको मिटरले नाप्ने ।
- यदि रगतमा चिनीको मात्रा सामान्य अवस्थामा नआएमा तुरुन्त आफ्नो डाक्टरलाई सम्पर्क गर्ने ।
- प्रत्येक दिन ठिक अनुपातमा ४/५ पटक एकै समयमा तालिका मिलाएर खाने
- कहिले धेरै कहिले थोरै वा नखाई भोकै नबस्ने ।
- औषधि वा इन्सुलिनसंग खानाको समय र मात्रा सधै मिलाउनु पर्दछ ।
- आफ्नो सम्बन्धित चिकित्सकलाइ सम्पर्क गरेर मात्र औषधि फेरबदल गर्ने, आफुखुसि वा सुने जानेका आधारमा औषधी र खानपान परिवर्तन नगर्ने ।
- काम वा व्यायम धेरै भएमा त्यही अनुसार खानाको मात्रा मिलाउनु पर्दछ ।
(डाइटिसियन, काठमाडौ मेट्रो हस्पिटल)