यति बेला कोरोना भाइरसको संक्रमण अर्थात कोभिड १९ ले संसारभर महामारीको रुप लिइरहेको छ । कोरोना भाइरसबाट जुन सुकै वर्ग, समुदाय प्रभावित हुन सक्ने भएता पनि बिश्व स्वास्थ्य संगठनका अनुसार मधुमेह जस्ता दिर्घरोग लागेका बिरामीहरु कोरोना संक्रमित हुने र स्वास्थ्य जटिलता बढ्ने उच्च जोखिम समुहमा रहेको उल्लेख गरेको छ ।
चिनको वुहानमा गरिएको अध्ययनमा उक्त शहरमा कोरोनाबाट संक्रमित हुनेमा २५५ बिरामीहरु मधुमेहका थिए र समग्रमा मृत्यु दर पनि यस्ता रोगीहरुमा बढि भएको पाइएको थियो ।
रगतमा ग्लुकोजको मात्रा बढ्नाले प्रत्यक्ष रुपमा शरिरको रोगसँग लड्ने प्रतिरक्षा प्रणाली कमजोर हुने गर्दछ। तसर्थ मधुमेह रोगका बिरामीहरुले आफ्नो रगतमा ग्लुकोजको मात्रालाई सन्तुलित राख्नु पर्दछ ।
कोरोनाबाट बच्न मधुमेहका बिरामीले सामाजिक दुरीका साथै आफ्नो व्यक्तिगत सरसफाई र दैनिक जिवनशैलीमा ध्यान दिनु पर्दछ ।
मधुमेहीले दैनिक जीवनशैली कसरी व्यवस्थापन गर्ने ?
- डाक्टरको सल्लाह बमोजिम औषधी नियमित समयमा सेवन गर्ने ।
- लकडाउनका समयावधि थपीन सक्ने हुनाले आफ्नो औषधी थप एक दुई महिनाको लागी पुग्ने गरि छ छैन सुनिश्चित गर्ने र छैन भने समय मै किनेर राख्ने।
- रगतमा ग्लुकोजको मात्रालाई नियन्त्रीत राख्न दिनमा ६ पटक रुटिन तथा मात्रा मिलाएर खाना खाने (३ पटक ठुलो खाना, ३ पटक सानो खाना)
ठूलो खाना : बिहानको खाना, दिउसोको खाजा, रातीको खाना
सानो खाना : बिहानको नास्ता, दिनमा एक पटक फलफुल (खानापछि), साँझमा खाइने खाना (बदाम, भटमास, सातु आदि) - यसरी ६ पटक खाँदा हाम्रो रगतमा रहेको ग्लुकोजको मात्रा नियन्त्रित हुन सघाउ पुग्दछ भने शरिरमा चिनीको मात्रा (हाइपोग्लाइसेमिया) पनि घट्न पाउदैन ।
- खानाको मात्रा सधै मिलाउने, कहिले धेरै कहिले थोरै वा नखाई भोकै नबस्ने र दिइएको औषधि वा इन्सुलिनसंग चिकित्सकले भनेबमोजिम खानाको समय मिलाउने ।
- शारिरीक रुपले सक्रिय रहने । दिनमा कम्तिमा ३० देखि ४५ मिनेट मुटुको गति बढाउने तवरले व्यायाम गर्ने ।
- तनाव सकेसम्म कम लिने, रातको समयमा कम्तिमा ७ घण्टा सुत्ने, खाना खाएको दुई घण्टा पछाडी मात्र सुत्ने ।
- रातको समयमा रगतमा ग्लुकोज घट्दा (हाइपोग्लाइसेमिया) तत्काल प्राथमिक उपचारका लागि सिरानी वा सजिलै भेट्ने ठाउमा चिनिजन्य खानेकुरा जस्तै: चकलेट, ग्लुकोज वा गुलियो जुस राख्ने, बाहिर हिड्दा पनि यस्ता खानेकुरा र डाइबेटिज बिरामी भएको प्रमाण (कार्ड) साथमा लिएर मात्र हिड्ने ।
खानामा के खाने ?
- दिउँसोको खाजामा सातु, ओट्स, पातलो रोटी (गहुँ, कोदो, फापरको) ,चना, राज्मा, दहि, अण्डा, भुजा, चिउरा आदि सन्तुलित मात्रा मिलाएर समावेश गर्न सकिन्छ ।
- चिनीको मात्रा कम भएको खानेकुराहरु जस्तैः महि, काक्रा, मुला, प्याज चाहेजति मात्रामा खान सकिन्छ ।
- उपलब्ध भएसम्म ताजा तथा सिजनल फलफुल दिनमा एकपटक खाने, फलफुल खाँदा बोक्रा सहित खान मिल्ने छ भने बोक्रा सहित नै खाने यसो गर्दा त्यसमा रहेको रेसा (फाइबर) पनि शरिरले प्राप्त गर्दछ । हाम्रो शरिरमा फाइबरका धेरै फाइदाहरु छन् ।
- अति प्रशोधित खाना जस्तैः बिस्कुट, चाउचाउ, चिप्स, गुलियो पेय पदार्थहरु आदि सकेसम्म नखाने ।
- आकस्मिक रुपमा ग्लुकोज घटेको लक्षण देखिएमा (अत्यधिक भोक, कमजोरी महशुस हुनु, चिटपिट पसिना आउनु, मुटुको ढुकढुकी बढ्नु, रिंगटा, आखा अगाडी अध्यारो हुनु) तुरुन्त चिनिजन्य खानेकुरा जस्तै: चकलेट, ग्लुकोज वा गुलियो जुस खानुपर्छ । पटक पटक यस्तो लक्षण देखिएमा तुरुन्त आफ्नो चिकित्सकलाई सम्पर्क गर्ने ।
(डाइटिसियन, डाइबेटिज तथा इन्डोक्राइनोलोजी सेन्टर तथा सुमेरु अस्पताल)