पशु बधशालालाई दर्ता गरेर मात्रै चलाउन निर्देशन

बनेपा । जिल्ला बजार अनुगमन समितिले बिहिबार काभ्रेपलाञ्चोकको बनेपा बजारमा गरिएको अनुगमनका क्रममा तोकिएको मूल्यभन्दा बढीमा सामान बिक्री गर्ने पसल सञ्चालकलाई जरिवाना गरेको छ ।

पशु बधशाला सञ्चालकलाई बधशाला दर्ता गरेर मात्रै सञ्चालन गर्न पनि निर्देशन दिएको छ । काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार नेतृत्वको टोलीले खाद्यान्न, मासु, कस्मेटिकलगायतका पसलको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा बनेपा नगरपालिका–७ गोदामचोकमा रहेको इजीसपले तोकिएभन्दा बढी मूल्यमा सामान बिक्री गरेको पाइएको भन्दै पहिलोपटकका लागि रु पाँच हजार जरिवाना गरिएको छ । पसलका सञ्चालकले मूल्यसूची टाँस गर्ने क्रममा भुलवश बढी मूल्य टाँसेको स्वीकार गर्दै अब त्यसरी गल्ती नगर्ने बताउनुभयो ।

त्यसैगरी बनेपा नगरपालिका–९ शाहीटोलमा सञ्चालन गर्दै आएको पशु बधशाला बिनादर्ता सञ्चालन गरेको पाइएका कारण त्यसो नगर्न निर्देशन दिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेपलाञ्चोकका प्रमुख मोगलप्रसाद साहका अनुसार अनुगमनको क्रममा शाहीटोलमा विगत लामो समयदेखि सञ्चालन गर्दै आएको बधशाला बिनादर्ता चलाइरहेको पाइएको बताउनुभयो । “मासु पसल दर्ता गरेर त्यसैको नाममा बधशालासमेत सञ्चालन गरेको पाइएको छ”, उहाँले भन्नुभयो, “पसल दर्ता एउटा, काम गराइ अर्को भएको पाइएका कारण तत्काल दर्ता प्रक्रियामा जानका लागि निर्देशन दिएका छौँ ।”

बनेपाको शाही टोलमा आठ÷नौ बधशाला सञ्चालनमा आएकामा सबै बिनादर्ता सञ्चालन गरेको र त्यसरी सञ्चालनमा आएको बधशाला मापदण्डअनुसारको नभएको पाइएको छ । बधशाला सञ्चालन गर्दै आउनुभएका रीना शाहीले यसरी नियमपूर्वक बधशाला सञ्चालन गर्नुपर्ने भन्ने जानकारी नपाएको भन्दै त्यसका लागि आवश्यक सुझाव र प्रक्रियाका बारेमा जानकारी दिन आग्रह गर्नुभयो ।

बनेपा तीन दोबाटोमा चण्डेश्वरी मासु पसल दर्ता गरी बधशाला समेत सञ्चालन गर्दै आएको उहाँले आफ्नो पसलबाहेक बनेपा र धुलिखेललगायतका अन्य पसललाई समेत मासु बिक्री गर्दै आइरहेको बताउनुभयो । त्यसरी मासु पसलमात्रै दर्ता गरेर बधशाला सञ्चालन गर्दै आएका व्यवसायीलाई समूहमा मिलेर बधशाला दर्ता गराइपाऊँ भन्ने सामूहिक निवेदन लिएर नगरपालिकामार्फत आउन र त्यसपछि आवश्यक प्रक्रिया मिलाएर बधशाला सञ्चालनको व्यवस्था गरिदिने भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख साहले बताउनुभयो । त्यसरी सञ्चालनमा आएको बधशाला सञ्चालकलाई दर्ता गरी बिक्री वितरण गर्ने क्रममा बिलमार्फत मात्रै कारोबार गर्न निर्देशन दिनुभएको छ ।

बधशाला सञ्चालक शाहीले आफूहरुले फोहर व्यवस्थापनका लागि पटक–पटक नगरपालिकालाई ढलको व्यवस्थापन गरिदिन आग्रह गर्दा पनि वेवास्ता गरेको गुनासो गर्नुभयो । “हामीले फोहर व्यवस्थापनका लागि भनेर नगरपालिकालाई मासिक रु ६० हजार तिरिरहेका हुन्छौँ, तर न ढलको व्यवस्थापन गरिदिन्छ न अन्य सुविधा नै”, उहाँले भन्नुभयो, “पटक–पटकको आग्रहपछि राखिदिएको पाइप पनि त्यसभित्र पानी धेरै गयो भनेर अर्को साना जाली राखिदिएको छ, जसका कारण फोहर फाल्नका लागि मस्या भइरहेको छ ।”

-रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ज्येष्ठ नागरिकलाई निःशुल्क उच्च रक्तचाप र मधुमेहको औषधि

ललितपुर । गोदावरी नगरपालिकाले यहाँका ज्येष्ठ नागरिकलाई निःशुल्करूपमा उच्च रक्तचाप र मधुमेहको औषधि वितरण गर्ने भएको छ । उक्त...

पाँच जिल्ला कार्यक्षेत्र रहेको खाद्य प्रविधि कार्यालयमा दुई जना मात्रै कर्मचारी

तनहुँ । सरकारले विसं २०७५ कात्तिक १५ गतेदेखि तनहुँमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना गर्‍यो। कार्यालयलाई तनहुँको...

उपत्यकामा कुन मासुको मूल्य कति ?

काठमाडौं । काठमाडौं उपत्यकामा एक वर्षका लागि खसी, कुखुरा, राँगा र बंगुरको तयारी मासुको बिक्री मूल्य निर्धारण गरिएको छ...

मासु बारे थाहा पाउनै पर्ने कुराहरु

दशै, तिहारजस्ता चाड नेपालमा मासुको अत्याधिक खपत हुने समय हो । खसि, राँगा, भेडा, च्यांग्रादेखि सुंगुरसम्मको बध गरी दशै...

अन्य सम्बन्धित