ब्रेन प्लास्टिसिटी जर्नलमा हालै प्रकाशित अध्ययनअनुसार नियमित योगाभ्यास मस्तिष्कको स्वास्थ्यलाई धेरै फाइदा पुग्ने दाबि गरिएको छ । उक्त अनुसन्धान योग र मस्तिष्कको स्वास्थ्यमा आधारित ११ अध्ययनहरुको समिष्टिगत निचोड हो ।
उक्त अध्ययनको निष्कर्ष अनुसार नियमित योग गर्नेहरूमा ‘हिप्पोक्याम्पस’ को आयातनमा वृद्घि देखियो जुन मानसिक स्वास्थ्यका लागि लाभकारी हो। यस्तै वृद्घि थुप्रै अध्ययनमा शारीरिक व्यायाम गर्नेहरूमा पनि देखिएको थियो तर बृद्धिदर व्यायाममाभन्दा योगमा बढी भएको अनुसन्धानको दाबि छ । हिप्पोक्याम्पस त्यस्तो भाग हो जुन स्मरणशक्तिको क्षमता निर्धारणमा सम्मिलित हुन्छ र उमेर बढेसँगै खुम्चिन्छ । विभिन्न अध्ययनअनुसार डिमेन्सिया र अल्झाइमरमा यही खण्ड सबैभन्दा पहिले प्रभावित हुन्छ । त्यसैले नियमित योग गर्नु डिमेन्सिया र अल्झाइमरको जोखिम कम गर्नु हो ।
मनसिक रोगको दर बढिरहेको सन्दर्भमा विशेष गरि ६५ वर्ष माथिका मानिसमा योगले डिप्रेसनको जोखिम कम गर्न सघाउनुका साथै संज्ञानात्मक क्षमतालाई कायम राख्ने विशव स्वास्थ्य संगठनले समेत बताएको छ ।
विश्व स्वास्थ्य संगठनले योग सबै उमेरका मानिसका लागि फाइदाकर भएको र बालबालिकाले सातामा ६० मिनेट र वयस्कले १ सय ५० मिनेट योग गर्दा नसर्ने रोगबाट टाढा रहन सकिने जनाएको छ । दक्षिण एसिया हेर्ने विश्व स्वास्थ संगठनको शाखालले दक्षिण एसिया क्षेत्रका ७० प्रतिशत युवा र ८० प्रतिशत युवतीले अपर्याप्त शारीरिक गतिविधि गर्ने गरेको बताएको छ । बर्सेनि यो क्षेत्रमा नसर्ने रोगका कारण ८५ लाख मानिसको मृत्युसमेत हुने गरेको छ ।
५ हजार वर्षदेखि अभ्यासमा रहेको योग शारीरिक शक्ति र लचिलोपना वृद्घिको प्रभावकारी उपाय रहेको भन्दै डव्लुएचओले मुटुसम्बन्धी स्वास्थ्य राम्रो पार्न मात्रै नभई क्यालोरी बढाउन र मस्तिष्कलाई आराम पुर्याउन पनि यसको प्रभावकारिता रहेको बताएको छ ।